पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

असार ८, २०७९ | पोखरा

आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्नेदेखि ४ वर्ष भित्र आफ्नै मेट्रो अस्पताल बनाउनेसम्मका योजनासहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर धनराज आचार्यले पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चार दशकअघि बसपार्कका लागि पृथ्वीचोकमा जग्गा छुटयाइए पनि हालसम्म बन्न नसकेकोमा नीति तथा कार्यक्रममा बसपार्क निर्माण गर्ने उल्लेख छ । बसपार्कको क्षेत्रफल यकिन गर्ने, अव्यवस्थित बसोबास (सुकुम्बासी)लाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने र सिटी बसपार्कको रुपमा निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने बताइएको छ । लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणा पश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिने नीति महानगरले लिएको छ ।

आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । फेवाताल लगायतका महानगरभित्रका सबै तालतलैया, खोला, खोल्सी, सार्वजनिक जग्गा लगायतको मापदण्ड तयार गरी उपयुक्त संरक्षण र दीगो उपयोग गर्ने नीति अंगीकार गरिएको छ । सार्वजनिक सम्पत्ति संरक्षणमा महानगरले चासो देखाएको छ । आगामी वर्षमा महानगरका सार्वजनिक, पर्ती, सरकारी जग्गाको लगत तयारी गरी खुला स्थानको पहिचान गर्ने, मालपोत तथा नापी कार्यालयसँगको समन्वयमा तथ्यांक र अभिलेख अध्यावधिक गर्ने व्यवस्था मिलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको योजना छ । फोहोरमैला उत्सर्जनमा न्यूनिकरण तथा स्रोतमै वर्गीकरण गरी पुन: प्रयोग एवं पुन: चक्रीय फोहोरमैला विक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने नीति महानगरले लिएको छ । 


प्रतिक्रिया