पहिरो खस्दा सिद्दार्थ राजमार्ग अवरुद्ध

असार १४, २०७९

लगातारको वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अविरल वर्षासंगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले पहिरो पन्छाउन नसकिएको दोभान प्रहरी चौकी प्रमुख विष्णु बहादुर कुंवरले जानकारी दिनुभयो । ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिडेका सवारी साधनलाई दोभान प्रहरी चौकीबाट जान दिएको छैन । केही दिनयता दोभानदेखि सिद्दबाबा क्षेत्रमा दिनहुँ खस्ने समस्या बढेको छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हुदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् । 


प्रतिक्रिया