बिहेभोजपछि बिरामी परेका अधिकांशमा आउका किटाणु देखियो : चिकित्सक

मंसिर २१, २०७९ | पाल्पा

पाल्पामा बिहे भोजपछि बिरामी परेका अधिकांश बिरामीमा आउका किटाणु देखिएको छ । दुषित पानी, खाना वा सरसफाईका कारणबाट आउ लाग्ने गर्छ । मिसन अस्पतालमा उपचार गर्न गएकाहरुको दिशा जाँच गरेको रिपोर्टमा आउका किटाणु देखिएको स्वास्थ्यकर्मी तथा चिकित्सकले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउको किटाणु देखिएको बताएका हुन् । बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । मंगलबार मिसन अस्पतालका डा. सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए ।

बुधबार पुन: लुम्बिनी प्रादेशिक अस्पतालका डा. विवेश खनाल, मेडिटेल अस्पतालबाट स्वास्थ्यकर्मीहरु विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको थियो । मेडिटेक अस्पतालले एम्बुलेन्ससमेत पठाएको थियो । रुपन्देही बसोवास गर्ने बराङदीका लक्ष्मण बस्यालले चिकित्सकसहितको टोली ल्याउन सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुन: समस्या देखिएको छ । गर्भवती महिला, बालक र अर्का एक महिलासहित तीन जना नयाँ बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुका अनुसार फलोअपसहित चिकित्सकसहितको टोलीले घरघरमा पुगेर उपचारमा सघाएको छ । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरुको प्रयोगशाला रिपोर्ट अनुसार सबैमा दिशामा एक प्रकारको किटाणु देखिएको उनले बताए । दुषित पानी, खानाबाट हुने किटाणुबाट आउ परेको देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले जनाएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका डा. खनालका अनुसार दिशा जाँच गर्दा आउको किटाणु फेला परेको देखिएको छ । तीन दिनदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घरघरमा पुगेर सेवा दिइरहेका छन् । स्लाइन पानी चढाउने, औषधि, जीवनजल बितरण, स्वास्थ्य, सरसफाईसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्यचौकीका प्रमुख नोदप्रसाद बस्यालले बताउनुभयो । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको उहाँले उल्लेख गर्नुभयो । अधिकांश बिरामी गाउँमै भएकाले बगनासकाली गाउँपालिका, मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी खटिएर उपचार गरेका हुन् । बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका छन् । स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमुना संकलन गरेको जनाएको छ । 


प्रतिक्रिया