पर्साको प्याकेजिङ उद्योगमा भीषण आगलागी, १४ करोडको क्षति

पुस ६, २०७९ | पर्सा

पर्साको बिन्दवासिनी गाउँपालिका–२ गर्दौलस्थित बाबा प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योगमा लागेको भीषण आगलागी भएको छ । आगलागीबाट १४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

आगलागीबाट उद्योगमा रहेको कच्चा पदार्थ, मेसिनरी सामान तथा तयारी अवस्थामा राखिएको कार्टुन लगायत करीब १४ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगीलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

आगलागी कसरी भयो र क्षति सम्बन्धमा थप अनुसन्धान भईरहेको पर्साका डीएसपी दीपक गिरीले बताउनुभयो । मंगलबार राति लागेको आगो करीब ३ घण्टाको प्रयासपछि निभाइएको थियो । मंगलबार राति करीब ११ बजेर ४५ मिनेटमा उद्योगमा आगलागी सुरु भएको थियो । 

वीरगञ्ज महानगरपालिकाको २, पोखरिया नगरपालिकाको १, विपद व्यवस्थापन गुल्म पर्साको १ गरी कुल ४ दमकल सहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बेश क्याम्प पर्साको संयुक्त टोलीले बुधबार बिहान साढे २ बजेरतिर आगो निभाएका थिए ।


प्रतिक्रिया