राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

माघ १२, २०७९ | काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नु भएको छ । 

राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्परा अनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नु भएको थियो । वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । 

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।


प्रतिक्रिया