विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने मन्त्रालयको दाबी

माघ १३, २०७९

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि विद्यार्थीले समयमै पाठ्यपुस्तक हात पार्ने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्र शुरु हुन पूर्व नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभयो । रेडियो कान्तिपुरसंग कुरा गर्दै प्रवक्ता शर्माले समयमै पाठ्यपुस्तक पुर्‍याउने उद्धेश्यले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक नीजिलाई छाप्न दिने निर्णय भएको जीकिर गर्नुभयो । यसअघि कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक नीजिले र ४ देखि १० सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो । 

कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र बहादुर आचार्यले बैशाख अघि नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम गरीरहेको बताउनुभयो । उहाँका अनुसार जनकले हाल दैनिक १ लाख ५० हजारको हाराहारीमा पाठ्यपुस्तक छापी रहेको छ । कक्षा ६ देखि १० सम्मका १ करोड ५० लाख थान पाठ्यपुस्तक केन्द्रले छपाई गर्नुपर्नेछ । गत पुषदेखि पाठ्यपुस्तक छपाई कार्य शुरु गरेको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म ५७ लाख पाठ्यपुस्तक छपाई सकेको जनाएको छ । 


प्रतिक्रिया