गृहमन्त्री पार्टीभित्र राख्नुपर्ने आवाज उठेको छ : पार्टी प्रवक्ता महरा

माघ १६, २०७९

सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र गृहमन्त्री आफ्नै पार्टीभित्र राख्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नहुने आवाज उठेको छ । नागरिकता विवादका कारण सांसद पद खारेज भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै तत्कालका लागि गृहमन्त्री बनाउनुपर्ने दवावका बीच माओवादी केन्द्रले गृहमन्त्री आफैं लिनुपर्ने आवाज सो पार्टीभित्र उठेको हो । 

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकपछि सो पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभयो । माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गृहमन्त्री टुंगो लगाउने पार्टीको नभई प्रधानमन्त्रीको भएको बताउनुभएको हो । उपाध्यक्ष महराले प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे निर्णय गर्ने भएकाले सो विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिर गर्नुभयो ।

गत शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको पद गुमाउनुभएको थियो । त्यसपछि गृह मन्त्रालय प्रधानमन्त्री दाहालकै मातहतमा राखिएको छ । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ । 


प्रतिक्रिया