अमेरिकी उप–विदेशमन्त्री नुल्याण्डद्वारा राजनीतिक भेटघाट

माघ १६, २०७९

नेपालको २ दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज राजनीतिक भेटघाट गर्नुभएको छ । नुल्याण्ड र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अमेरिका र नेपालबीच द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सञ्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै उप–विदेशमन्त्री नुल्याण्डले एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्यालसंग पनि भेटवार्ता गर्नु भएको छ । भेटका क्रममा नुल्याण्डले सबै छिमेकीहरूसंग आर्थिक सहकार्य गर्न र आफ्नो सार्वभौमसत्ताको रक्षामा ध्यान दिन सुझाव दिनुभएको छ । 

उहाँले ललितपुरको पाटनमा आयोजित पत्रकार सम्मेलनमा नेपालले छिमेकी मुलुकहरूसंग आर्थिक सहकार्य गर्दा सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभएको हो । अमेरिकाको भारतसंग बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसंग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा लोकतन्त्रलाई थप मजबुत बनाउन, मानव अधिकारको अवस्था सुदृढ गर्न तथा शरणार्थीको अवस्थाबारे बुझ्न नुल्याण्डको भ्रमण केन्द्रीत भएको अमेरिकी दूतावासले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता कार्यन्वयनको बिषयमा पनि उपमन्त्रीले चासो प्रकट गरेको बताइएको छ । 


प्रतिक्रिया