प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीनतर्फ
मंसिर १३, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जानुभएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी एवं दुई पक्षीय एजेण्डाबारे छलफल गर्न परराष्ट्रमन्त्री राणा ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।
परराष्ट्रमन्त्री राणाले छेन्दुमा भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो अवसरमा परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङबीच आर्थिक एवं कूटनीतिक विषय, बीआरआईको विषयमा साझा धारणा लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच सत्तारुढ नेपाली कांग्रेस र एमाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई कार्यान्वयनका विषयमा सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा बीआरआई कार्यक्रम कार्यान्वयन योजनाको प्रस्तावित मस्यौदालाई संशोधन गरेर बीआरआई कोअपरेशन फ्रेमवर्कको प्रस्ताव गर्ने गृहकार्य भईरहेको नेताहरुको भनाई छ ।
प्रधानमन्त्री ओलीले आगामी १७ गतेदेखि २० गतेसम्म उत्तरी छिमेकी चीनको भ्रमण गर्दै हुनुहुन्छ ।