प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता
कार्तिक २६, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका हुन् । छलफलमा निर्वाचन आयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयमा प्रधानमन्त्री कार्कीले जानकारी लिनुभएको थियो ।
यसअघि समेत मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्नुभएको थियो ।
यसैबीच, निर्वाचन आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । आयोग कार्यालयमा नाम दर्ता गराउनेको चाप बढेपछि १८ वर्ष पुरा भएकालाई मात्रै नाम दर्ता गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । त्यस्तै, सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न आयोगले दुई सिफ्टमा छ÷छ घण्टाका दरले १२ घण्टा काम गर्न थालेको जनाएको छ ।







