कांग्रेसका २४ केन्द्रीय सदस्यद्वारा चुनावअघि महाधिवेशन गर्न नेतृत्वको ध्यानाकर्षण
कार्तिक २८, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका २४ जना केन्द्रीय सदस्यले चुनावअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महाधिवेशन गर्ने विषयमा केन्द्रीय कार्यसमिति बैठक अनिर्णित भएका बेला संस्थापन पक्षकै दुई दर्जन नेताले महाधिवेशनको माग गरेका हुन् । उनीहरुले महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणकोे समयसीमा निर्धारण गर्नुपर्ने लगायत माग अघि सारेका छन् । केन्द्रिय नेताहरु राजेन्द्रकुमार केसी, उदयशमशेर राणा, अर्जुन जोशी, भरतकुमार शाह, पुष्पा भुषाल, डिला संग्रौला लगायतले महाधिवेशनको माग गरेका हुन् । नेता राणाले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो ।
मंसिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्नुपर्ने उनीहरुको माग छ । केन्द्रिय सदस्य राणाले पार्टीमा विवाद गर्नुको साटो मध्यमार्गी विकल्पमा जानुपर्ने धारणा आफूहरुले राखेको बताउनुभयो ।
२४ जना नेताले आगामी १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र लगायतको अर्थपूर्ण सहभागिताका लागि आवाज उठाएका छन् । यसैबीच, पार्टीका शीर्ष नेताहरु महाधिवेशनलाई लिएर उत्पन्न विवाद मिलाउन आन्तरिक परामर्शमा व्यस्त भएको बताइएको छ ।








