खोटाङ डायरी

माघ २०, २०७४ | खोटाङ

खोटाङ–रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक योजना निर्माण सुरु भएको छ । समृद्ध नगरपालिका बनाउन विकासको प्राथमिकीकरण गर्न आवधिक योजना निर्माण सुरु भएको हो । आवधिक योजनाका लागि स्वीस सरकारले प्राविधिक सहयोग गरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।
 
समृद्ध नगरपालिका निर्माणका लागि पाँच वर्षे योजना निर्माण गरिने मेयर रिजालले सुनाउनुभयो । आगामी पाँच वर्षभित्र मुलुककै नमुना नगरपालिका बनाउने योजनाका साथ नगरपालिकाका सबै वडाका विषयगत तथ्याङ्क सङ्कलन गरिएको र त्यसै आधारमा योजना बन्ने छ । यसका लागि विषयगत विशेषज्ञ तथा नगरपालिकाका १५ वटै वडा अध्यक्ष्य लगायतका पदाधिकारीहरुको सहभागिता छ । मुलुकको सात सय ५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउने पहिलो स्थानीय तह बनेको रिजालको दाबी छ ।
 
जिल्लास्थित विभिन्न ठाउँमा निर्माणाधीन आदिवासी जनजाति सम्वद्ध संरचनाहरु अलपत्र तथा गुणस्तरहीन बनेको गुनासा आएका छन् । रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गास्थित आदिवासी जनजाति सङ्ग्रहालय दल सम्बद्र्ध निर्माण उपभोक्ता समितिको अनियमिततापछि पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुमको भवन पनि अपायक पने ठाउँमा निर्माण गरिएकाले प्रयोग बिहीन बनेको छ । त्यहाँ समेत आर्थिक पारदर्शी नभएको गुनासो समेत आएको छ । यसबारेमा तुवाचुङ जायजुम संरक्षण समितिका पदाधिकारीहरु बीच मै मतभेद भएको श्रोतले जनएको छ ।
योजना बिनै भवन निर्माण गरिएकाले मतभेद भएको श्रोतले जनाएको छ । लागत अनुसारको गुणस्तर पनि नभएको संरक्षण समितिका एक सदस्यले बताए । त्यसो त मझुवागढीको संरक्षा पोष्ट निर्माणमा समेत चित्त बुझ्दो काम नभएको गुनासा आएका छन् । मझुवागढी निर्माणमा पुरातात्विक विभागको चार लाख रुपैयाँ खर्च भए पनि अपूरै अवस्थामा रहेको भन्दै गुनासा आएका हुन् । मझुवागढी क्षेत्रमा निर्माण भएका संरचनाहरु समेत गुणस्तरहीन बनेको स्थानीयले गुनासो गरेका छन् । मझुवागढी देविस्थान गुरुयोजना निर्माण भइसकेको र त्यसै अनुसार गुणस्तरीय कामका गर्नु पर्ने भएकाले यसबारेमा निर्माणमा सम्बद्धलाई तत्काल बोलाएर जानकारी लिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो । 
 
सुन्तलाबाट यो वर्ष आठ करोड भन्दा बढी रकम खोटाङ जिल्ला भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङका वागवाणी विकास अधिकृत कौशलकुमार यादवका अनुसार जिल्ला उत्पादित सात हजार तीन सय ८० मेट्रिकटन सुन्तलामध्ये ३० प्रतिशत मात्र निकासी हुँदा आठ करोड ८५ लाख ६० हजार रूपैयाँ मुल्य बराबरको सुन्तला निकासी भएको हो । अन्य ७० प्रतिशत सुन्तला आन्तरिक रुपमा खपत भएको यादवले बताउनुभयो । यादवका अनुसार जिल्लामा २९ करोड ५२ लाख बराबरको सुन्तला उत्पादन भएको हो । जिल्लाको कुल एक हजार १५ हेक्टर मध्ये छ सय १५ हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ ।


प्रतिक्रिया