जुम्लामा पहिलो पटक सिनेट बैठक

रेडियो कान्तिपुर संवाददाता

वैशाख १, २०७५ | जुम्ला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक जुम्लामा पहिलो पटक सम्पन्न भएको छ । प्रतिष्ठाको छैंटौं सभा बैठक प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पल्ट जुम्लामा भएको हो । यस अघि काठमाडौंमा हुँदै आएको सभा बैठक यस पटक भने केन्द्रीय कार्यालय जुम्लामा भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताउनुभयो ।

‘छैंटौं सिनेट बैठकले कर्णाली प्रदेशका हरेक जिल्ला अस्पतालमा शैक्षिक कार्यक्रम लागू गर्ने निर्णय गरेको छ’ उहाँले भन्नुभयो, ‘पहिलो पटक केन्द्रीय कार्यालय जुम्लामा भएको सिनेट बैठकले कर्णाली प्रदेशका सबै जिल्लामध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत र ऐनले तोकेको प्रदेश नं ७ का तीन जिल्ला अछाम, बझाङ, बाजुराका अस्पताललाई शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पारित भएको छ’ । 

प्रत्येक जिल्लामा मेडिकल शिक्षा कार्यक्रम शुरु भएपछि कर्णाली स्वास्थ्यकर्मी उत्पादन गर्ने थलो बन्ने लक्ष्य लिइएको छ । आगामी शैक्षिक सत्रदेखि एमबीबीएस, एमडीजीपी र एमडीएमएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न र प्रतिष्ठानका शैक्षिक कार्यक्रम विस्तार गर्नका लागि आवश्यक पर्ने शैक्षिक तथा कर्मचारीको प्रस्तावित दरवन्दी स्वीकृत गरिएको प्रतिष्ठानका कुलपति डा. राजेन्द्र वाग्लेले बताउनुभयो । ‘यी शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रतिष्ठानले लामो समयदेखि पहल गर्दै आइरहेको थियो’ उहाँले भन्नुभयो, ‘अहिले स्टाफ नर्स र एचएको पढाई भइरहेको छ’ । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा संघीय सरकार लागि परेको बताउनुभएको छ । 

 


प्रतिक्रिया