दाङ डायरी

रेडियो कान्तिपुर संवाददाता

वैशाख २, २०७५ | दाङ

लोपोन्मुख कुसुण्डा जातीको भाषा झनै लोप हुन थालेको छ । केही अनुसन्धानकर्ताले शब्दअर्थका पुस्तक पनि निकालिसकेका छन्, केहीले अझै अध्ययन गरिरहेका छन् तर कुसुण्डा जातीभित्रै भने यो भाषा फैलन सकेको छैन । हालसम्म कुसुण्डा भाषाका जानकार दुई महिला मात्रै जिवित भएकाले नयाँ पुस्तालाई सिकाउन नसके भाषा लोप हुने खतरा रहेको कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले बताउनुभयो । कुसुण्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २ सय ७३ जना कुसुण्डा छन् । उनीहरुमध्ये कुसुण्डा भाषा जान्ने ८० बर्षिया ज्ञानीमैया र ४२ बर्षिया कमला मात्रै हुन् । दाङको कुलमोडमा बस्ने ज्ञानीमैया र मसोट खोला बस्ने कमला नै भाषाका स्रोत भएका छन् । नयाँ पुस्ताले भाषा सिक्न नसके कुसुण्डाको भाषा संस्कृती नै हराउने खतरा भैसकेको ज्ञानीमैयाले बताउनुभयो । 

लामो समयदेखि राप्तीमा जारी सिण्डिकेट केही हद्सम्म कम भएपनि पूर्णरुपमा अन्त्य हुन सकेको छैन । लामो संघर्ष र द्वन्द्वका बीच नयाँ यातायात प्रालीहरु गाडी चलाउन सफल भए पनि बिभिन्न वाहनामा पुराना समितिले सिण्डिकेट लगाइरहेका छन् । अझै पनि बिभिन्न बाहनामा आफ्नो समितिको मात्रै हित हुनेगरी पुरानाले सिण्डिकेट लगाइरहेको सहारा यातायात प्रालीका अध्यक्ष सुरेन्द्र केसीले बताउनुभयो । राज्यले अनुमति दिइसकेपछि देशभरी जहाँ पनि गाडी चलाउन पाउनुपर्नेमा पुराना समितिले ठाउँठाउँमा रोक लगाइरहेको उहाँले बताउनुभयो । एउटै डायल प्रणालीमा चलाउने भन्दै पुराना यातायात समितिले नयाँ प्रालीलाई दवावमा राख्ने गरेको केसीले बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका ७६ बर्षीय नारायणप्रसाद गौतमले बृद्धाश्रम निर्माण गर्न दुई विगाह जग्गा दान गरेका छन् । सो जग्गाको मूल्य अहिले चार करोड बढी पर्छ । दान गरेको जग्गामा अहिले आठ कोठाको भवन बनाई असहाय बृद्धबृद्धालाई राखेर स्याहार गर्न थालिएको छ । मातापिता केशवराज/झूपाकुमारीको सम्झनामा जग्गा दान गरेको गौतमले बताउनुभयो । समाजमा बृद्धबृद्धालाई सम्मान र संरक्षण गर्ने बातावरण बनोस् भनेर जग्गा दान गरेको उहाँले बताउनुभयो । गौतम परिवारले दान गरेको जग्गाले बृद्धाश्रम सञ्चालन गर्न सहज भएको बृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले बताउनुभयो ।

बर्षौंदेखि तारेख धाउँदा मोही किसानले जग्गामा अधिकार पाउन सकेका छैनन् । राप्ती गाउँपालिका–३ खुरुरियाका ६० बर्षीय रामशरण चौधरी जग्गामा मोही हक पाउन जिल्ला भूमी सुधार कार्यालय धाउन थालेको बर्षौं भैसक्यो । तारेख धाउँदाधाउँदा उहाँ थाकीसक्नुभयो तर जग्गा पाउन सक्नुभएको छैन । पहिले एउटै जमिन्दारको नाममा रहेको जग्गा अहिले छोराहरुलाई अंशबण्डा र अन्यत्र बेचबिखन गर्दा जग्गाधनी नै धेरै भैसके । उनीहरुलाई भेटाउनै कठिन भएको छ । खुरुरियाकै ४५ बर्षीय अमर चौधरीले पनि पहिले एउटा मात्रै धनी भएको जग्गामा अहिले सात जना धनीलाई खोज्नुपरेको छ । हाल जिल्लामा मोही सम्बन्धी २ हजार ३ सय १२ मुद्धा रहेकोमा ६४ को मात्रै टुंगो लागेको उहाँले बताउनुभयो । अझै २ हजार २ सय ४८ मुद्धा किनारा लाग्न बाँकी रहेको कुँवरले जानकारी दिनुभयो ।


प्रतिक्रिया