राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

रेडियो कान्तिपुर संवाददाता

असार २७, २०७५ | काठमाण्डौं

- राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिमा सघाउने, मुल्य वृद्धि नियन्त्रण तथा वित्तिय स्थायीत्वलाई प्राथमिकता दिएर केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने गरि मौद्रिक नीतिको लक्ष्य निर्धारण गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय बैंकले राजधानीको एक होटलमा अपरान्ह २ बजे मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । मौद्रिक नीतिमा खासगरि उत्पादन मुलक क्षेत्रमा कर्जा विस्तार,जोखिममा आधारित सुपरिवेक्षण,विद्युतिय भुक्तानी प्रणाली, संस्थागत शुसासन र वित्तिय सुशासनलाई जोड दिइएको प्रवक्ता पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले वित्तिय स्थायीत्व कायम गर्न नसकेको भन्दै आलोचना भएको थियो । 

आगामी आर्थिक वर्षका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थामा कर्जा र निक्षेपमा ताकेको ५ प्रतिशतको व्याजअन्तर/स्प्रेडदरलाई मौद्रिक नीतिमार्फत घटाउने संकेत गरेको छ । चालु आर्थिक वर्षबाटै लागु भएको पञ्चवर्षिय वित्तिय क्षेत्र विकास रणनीतिका आधारमा केन्द्रीय बैंकले स्प्रेड दर घटाउन लागेको हो । यस्तै बैंक तथा वित्तिय संस्थाले कर्जा, प्राथमिक पूँजि र निक्षेप बीचको अनुपात सीसीडी बढाउन आग्रह गरेपनि सम्भावना भने नरहेको केन्द्रीय बैंक श्रोतले जनाएको छ । 

 


प्रतिक्रिया