गुम्बा पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध छ : सीइओ ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

भाद्र १०, २०७५ | काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइओ सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त गुम्बाहरुको पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध भएको बताउनु भएको छ । गुम्बा पुनर्निर्माणबारे सरोकारवालासँग सिंहदरवारमा आज छलफल गर्दै सीइओ ज्ञवालीले निजी आवास पुनर्निर्माणमा बढी जोड दिनु परेका कारण केही समय गुम्बा लगायतका संरचनाहरुको पुनर्निर्माण ओझेलमा परेको बताउनुभयो ।

उहाँले गम्बा पुनर्निर्माणलाई तीब्र गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । सम्बन्धित गुम्बाहरुले बनाएका नक्सालाई मान्यता दिनुपर्ने प्रतिनिधिको मागप्रति सकरात्मक धारणा राख्दै उहाँले सरोकारवालाहरुको राय सल्लाहमा सम्पदाको मौलिकता रहनेगरी त्यसलाई अन्तिम रुप दिइने बताउनुभयो ।

उहाँले गुम्बा लगायतका सार्वजनिक संरचना निर्माणमा स्थानीय सरकारलाई पनि संलग्न गराउँदै लैजाने प्राधिकरणको नीति रहेको पनि उल्लेख गर्नुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य त्रय जिपछिरिङ लामा (दोलखा), श्याम कुमार श्रेष्ठ (रामेछाप) र हेम कुमार राई (सोलुखुम्बु), बौद्ध दर्शन विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ, नेपाल बौद्ध महासंघका अध्यक्ष रिन्छेन लामा, महासचिव कमल भण्डारी, विभिन्न गुम्बाका प्रमुखहरु लगायतको सहभागिता थियो ।

छलफलमा प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले गुम्बा पुनर्निर्माणका क्रममा प्राधिकरणले अनुदान उपलब्ध गराउँदा जिल्लाको भौगोलिक अवस्थितिलाई विचार गरिने धारणा राख्नुभयो ।

भूकम्प प्रभावित जिल्लाका ८ सय ९६ गुम्बा पुनर्निर्माण गर्नुपर्ने सूचीमा छन् । प्राधिकरणले भूकम्प प्रभावित २८ जिल्लाका १ हजार ३ सय २० गुम्बाको अध्ययन गरेको थियो । 


प्रतिक्रिया