वैदेशिक रोजगारी बारे जानकारी अब मोबाइलमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७५ | काठमाडौं

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अनलाईन प्रणाली सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System: FEIMS) को सुरुवात गरेको हो । यस्तै आजै मोबाइल एप पनि  सार्वजनिक गरेको छ ।

सहज र छरितो ढंगले गुणस्तरीय सेवा प्रदान गर्नका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवात गरेको मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेशन समेत संचालनमा ल्याइएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बीमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवा सम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पुर्‍याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।

यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्‍याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुर्‍याउने मन्त्रालयले जनाएको छ ।

यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुनेछ ।

यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नेछ । साथै यसबाट प्राप्त अनुभवबाट आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रमको तर्जुमा गर्न समेत सहयोग पुग्नेछ ।

यसका साथै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोबाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ ।

यस सूचना प्रणालीलाई २०७५ असोज १५ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गरिनेछ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली तथा मोवाइल एपमार्फत गरिने सेवा प्रवाहमा साथ, सहयोगका लागि सम्पूर्ण व्यक्ति, संस्था र सरोकारवाला निकायहरुमा यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ । वैदेशिक रोजगारी नामक मोबाइल एप्स प्ले स्टोरमा उपलब्ध छ । 


प्रतिक्रिया