लमजुङमा बाढीपहिरोमा परी ३ को मृत्यु, ४ बेपत्ता

भाद्र २७, २०७५ | लमजुङ

बुधबार अपराह्नको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर लमजुङमा २ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङदी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिन भाग्ने क्रममा हजुरआमा ६० वर्षीया अतिरुपा थापा र नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४० वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताउनुभयो । उहाँका अनुसार मर्स्याङदीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङदीले बगाएको छ ।

ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मस्र्याङदीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।

यता, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म बाढीपहिरोका कारण अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मस्र्याङदी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षीया ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।

उनका अनुसार लामा बाटोमा हिँडिरहेका थिए । उनका अनुसार उक्त ठाउँमा ४ घर रहेकोमा पहिरोले ३ घर बगाएको छ । आमा ७० वर्षीय फूलमाया गुरुङको पहिरोमा परेर खुट्टा भाँचिएको जगतले बताए । बुवा बलराम गुरुङ पनि घाइते छन् ।

मर्स्याङदी गाउँपालिका ४ का वडाअध्यक्ष सुमन गुरुङका अनुसार भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको छ । बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको छ । स्याँगेस्थित खुसीराम परियारको १५ वटा बाख्रा बगाएको छ । राबजारमा २ घर बगाएको छ ।

एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ । मर्स्याङदी गाउँपालिका ६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएको प्रहरीले जनाएको छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म ३ वटा जीप पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । च्याम्चे नजिकै पहिरो चलेपछि बेंसीसहर आउँदै गरेका मनाङका समानुपातिक संघीय सांसद कर्म घले रोकिएका छन् । 

बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन् । दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन् । मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङदीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको बताउनुभयो ।

५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासी आएको बर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र धनजनको क्षति भएको खबर आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी स्थानीयको उद्धारमा खटिएका छौं ।’ ठाउँठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ । 


प्रतिक्रिया