पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य पनि बढ्यो

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०७५ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ  । गएराती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । 

यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।  केही साता यता अन्तर्रा्ष्टि्रय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा र  एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९ रुपैयाँ  ७९ पैसा  घाटा नै रहेको निगमले जनाएको छ । समग्रमा पाक्षिक घाटा करीब ३१ करोड ६७ लाख रुपैयाँ पुगेको प्रवक्ता गोइतले जानकारी दिनुभयो । 

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको, डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार मूल्य समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्ज तर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर २९ दशमलव ४४ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर २८ दशमलव ४४ रुपैयाँ सस्तो छ ।


प्रतिक्रिया