खुर्सिद आलम अन्सारी हत्या अनुसन्धान गर्न समिति गठन

आश्विन ५, २०७५ | काठमाडौं

– सुनसरीका खुर्सिद आलम अन्सारी हत्या घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । अन्सारीमाथि हिजो बिहान हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा गोली प्रहार भएको थियो । बायाँ छातीमा दुई र टाउकोमा एक गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो । 

समितिका अन्य सदस्यमा सशस्त्र प्रहरीका एसपी रेशमकुमार थम्सु, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । समितिलाई १५ दिनमा घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न गृहले निर्देशन दिएको छ । गृहले केन्द्रीय अनुसन्धान ब्युरोको सीआईवीको अर्को टोलीलाई समेत घटना अनुसन्धानका लागि खटाउने निर्णय गरेको छ । यसबवीच, गृहमन्त्री रामबहादुर थापाले मृतकका परिवार एवं पीडित पक्षलाई आफूसँग भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । 

स्थानीय रौयान नेशनल पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अन्सारी विद्यालयको बैठक सकेर घर फर्कने क्रममा आक्रमणमा परेका हुन् । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीको कमजोरीले हत्यारा पक्राउ नपरेका भन्दै पीडित परिवार र स्थानीय आन्दोलित छन् । 

 

 


प्रतिक्रिया