उपचार गर्न अझै हेलिकप्टरकै भर

आश्विन ६, २०७५ | धादिङ

बिरामी हुन साथ हेलिकप्टर मगाएर उपचार गर्न काठमाडौं पुर्‍याउने रकम नभए अकाल मृत्युवरण गर्न पुग्छन् धादिङ उत्तरी भेकका बासिन्दाहरु । हाल सम्म सडक सञ्जालले नछोएको उत्तरी भेकका रुवीभ्यालीका ७ हजार घरधुरीको भैपरि आउँदा यातायातको एउटै साधन हेलिकप्टर मात्रै हो ।

अधिकांश परिवारले वर्षौ देखि कमाएको आर्जन हेलिकप्टरको एउटै चार्टरमा सकिन्छ । विगत ८ महिनाको अवधिमा हेलिकप्टर मगाउन नसक्दा तिप्लिङ्ग लवदुङ्ग र ठूलो गाउँँमा दुई सुत्केरीको रक्तश्रावले अकालमा ज्यान गयो ।

२३  वर्षीय डिलीमाया तामाङ्ग र २० वर्षीय फुलमाया तामाङ्ग सुत्केरी पछिको आपत्कालिन उपचारनै नपाएर मृत्यु भए ।

‘काठमाण्डौंबाट सानो हेलिकप्टर मगाएको भाडा मात्रै एकै खेपमा १ लाख २० हजार सम्म लिने गरेकोछ, त्यो पनि भनेको समयमा पाउदैन, आपद विपदमा रकम र हेलिकप्टर खोज्दैमा महत्वपूर्ण समय खेर जाने गरेको छ । काठमाडौंका आफन्तले कम्पनीमै लिएर नगद बुझाए पछि मात्रै रेस्क्यु गर्छ ।’ स्थानीय युवा जस थापाले भने । 

काठमाडौंमा मजदुरी गरी कमाएको अढाई लाख रकम तिप्लिङ्गका आईते तामाङ्गले आमा बाबुलाई हेलिकप्टरमा काठमाडौं ओसार्नमै खर्च गरे । स्थानीय येन्चा राज घले, टासी घले, गर्चेन घले लगायतलाई उपचार गर्न काठमाडौं लैजान आफन्तजनले हेलिकप्टर चार्टरमै लाखौं खर्च गरे । 

गत साउन देखि मात्रै तिप्लिङ्गमा ७ पटकमा १६ जना अशक्त बिरामी हेलिकप्टरबाट चार्टर गरिएको छ । हेलिकप्टर चार्टर गर्नेहरु अशक्त बिरामी, गर्भवती, सुत्केरी, दमका रोगी, आपराधिक घटनामा घाईते भएका र भीरबाट लडेका, पहिरोमा घाईते भएका छन् ।

स्थानीय स्तरमा भएका स्वास्थ्य सस्थाहरुमा प्राथमिक उपचार गर्ने पनि औषधीहरु नभए पछि सामान्य रोग लाग्दा पनि स्थानीयबासीहरु जिल्ला सदरमुकाम वा काठमाण्डौं जानु पर्ने बाध्यता छ । 

सदरमुकाम देखिे तिप्लिङ्ग सम्मको १ सय ७ किमी सडक निर्माण आरम्भ गरिएको ३० वर्ष नाघी सकेको छ । विभिन्न विवाद र आपराधिक घटनाहरुका कारण निर्माणाधिन सडक पनि ढिलाई भैरहेको छ । 


प्रतिक्रिया