सिन्धुली र नुवाकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | काठमाडौं

– सिन्धुली र नुवाकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ४८ जना घाइते भएका छन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा बस दुर्घटना हँुदा तीन जनाको मृत्युु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ८ का २९ वर्षीय रवि भण्डारी, मरिन गाउँपालिका ७ का २७ बर्षीय राजकुमार लामा र सोही स्थानका २३ बर्षीय अमित लामाको मृत्यु भएको प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । भण्डारीको घटनास्थलमै र अन्य २ को धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीेले जनाएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बासुकी यातायातको बस मोटरसाइकललाई साईड दिने क्रममा अनियन्त्रित भई सुनकोशी नदीमा खसेको घाइते आशिष लामाले बताए ।। सडकबाट करिब सय मीटर तल खसेको बस पूर्ण रुपमा क्षती भएको छ । स्थानीय र प्रहरीले घाइते तथा वेपत्ताको उद्दार जारी राखेका छन् । दुर्घटनाका कारण बीपी राजमार्गमा केही समय सडक समेत अबरुद्ध भएको थियो । यसअघि २०६८ असोज २६ गते सोही स्थानमा बस दुर्घटना हुँदा ४१ जनाले ज्यान गुमाएका थिए । 

यसैबीच नुवाकोटको दुप्तेश्वर ३ झगडेबाट त्रिशुली आउँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी ५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।  अन्यको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया