संसदीय समितिद्वारा सिक्टा सिंचाइ आयोजनाको स्थलगत अध्ययन

आश्विन २६, २०७५ | नेपालगञ्ज

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको स्थलगत अध्ययन गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइसँगै, परीक्षण गर्दा पटक पटक भत्किनुको कारणबारे समितिले स्थानीय र प्राविधिकसँग जानकारी लिइएको छ ।

समिति सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले दुई दिन लगाएर निर्माणाधीन आयोजना नहरको स्थलगत निरीक्षण गरेको हो । नहर निर्माणमा देखिएको ढिलासुस्ती र गुणस्तरबारे अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाउने समिति सभापति सुवेदीले जानकारी दिनुभयो ।

निर्माणमा ढिलाइ भएपछि आयोजनाको समयावधि पछाडि धकेलिंदै गएको छ । जसका कारण आयोजनाको लागत बढेको छ । निर्माण सम्पन्न गर्न सरकारले पछिल्लो पटक आर्थिक वर्ष ०७६/७७ को समय तोकेको छ । तर, अझै आधा काममात्रै सम्पन्न भएको छ ।

सो आयोजना निर्माण आर्थिक वर्ष ०६१/६२ मा सुरु गरिएको थियो । सिक्टा सिंचाइले शाखा–उपशाखा गरी करीब २ सय ८० किलोमिटर लामो नहर निर्माण गरी बाँकेका खेतीयोग्य ८० प्रतिशत जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।

जनताको पैसाबाट निर्माण भइरहेको सो आयोजना छिटो भन्दा छिटो सम्पन्न गर्न सरकारलाई सुझाव दिने समिति सभापति सुवेदीले बताउनुभयो । टोलीको सदस्यमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षत्री, शान्तिमाया तामाङ पाख्रिन र शान्ता चौधरी छन् । समितिले आयोजनाको गुणस्तरबारे समेत जानकारी लिएको छ ।

आयोजनाको मूल नहर दुई पटक भत्किसकेपछि गुणस्तरलाई लिएर प्रश्न उठ्न थालेको हो । आयोजनाले समस्या समाधानका लागि माटो परीक्षण लगायत विज्ञबाट राय/परामर्श लिई आवश्यक सुधार गर्न डिजाइन नक्सा सहितको प्रतिवेदन तयार पारेको जनाएको छ । 


प्रतिक्रिया