कांग्रेस सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : गच्छदार

आश्विन २६, २०७५ | मोरङ

नेपाली कांग्रेसको नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विधान मस्यौदामा सामूहिक नेतृत्व प्रणालीको व्यवस्था गरिनुपर्ने बताउनु भएको छ । मोरङको विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा उहाँले सभापतिलाई मजबुत बनाउन पार्टीको प्रस्तावित विधान मस्यौदामा गरेको प्रस्ताव उपयुक्त नभएकोले सामूहिक नेतृत्व प्रणालीको व्यवस्था हुनुपर्ने बताउनु भएको हो ।

‘मुलुकको सबै पार्टीको विधानमा अध्यक्षात्मक प्रणाली नै भएको अबस्थामा कांग्रेसले सामूहिक नेतृत्व प्रणालीमा गएर पार्टीलाई मजबुत बनाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक चुनौतीको सामना गर्दै अघि सक्षम र सबल पार्टी निर्माणका लागि पनि सामूहिक नेतृत्व प्रणाली आवश्यक छ ।’

सभापतिलाई अधिकार सम्पन्न बनाउनु, र उहाँलाई मात्रै जिम्मेबार बनाउनु भन्दा सबैले अधिकार बाँडफाँड गरेर पार्टीलाई मजबुत बनाउने अहिलेको आवश्यक्ता रहेको गच्छदारको भनाई थियो । ‘सभापति अधिकार सम्पन्न भए सबैलाई पेलेर एकल निर्णय गर्न गर्दै तानाशाही बन्न सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सभापतिका साथै अन्य पदाधिकारीमा अधिकार विकेन्द्रित गरेर चेक एण्ड व्यालेन्सको अबस्थामा राख्नु पर्छ ।’

कांग्रेसभित्रको आन्तरिक कलहले गणतान्त्रिक फोरमसँग एकता भएको वर्ष दिन बित्दा पनि दुई पार्टीबीच समायोजन हुन नसकेको गच्छदारले गु्नासो गर्नुभयो । ‘आउँदो सोमबार पार्टी एकता भएको एक बर्ष हुँदैछ तर आफ्नो पार्टीका नेता तथा कार्यकत्र्ता कांग्रेसमा समायोजन हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टी समायोजनामा ढिलाई गर्नु कांग्रेसकै लागि अहित हुन्छ ।’

चाँडोभन्दा चाँडो दुबै पार्टीलाई समायोजन गरेर मुलुकको हितमा कांग्रेस अघि बढनुपर्ने अहिलेको आवश्इक्ता भएको गच्छदारको भनाई थियो । ‘कांग्रेसभित्रको गुट, उपगुट समाप्त गरी एक ढिका भएर अघि बढनुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘पार्टीलाई एक ढिक्का बनाउने उद्देश्यले कांग्रेससँग एकता गरेको तर पार्टी समायोजन नभएकोले मैले सबैलाई एकताको सूत्रमा बाँध्नका लागि काम गर्न पाएका छैनौं ।’

गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गर्दै अहिलेको अबस्थामा काँग्रेस आउनुमा सबै जिम्मेबार भएको बताउनुभयो । उहाँले सबैभन्दा बढी पार्टी सभापति जिम्मेबार भए पनि त्यसको हिस्सा कार्य समिति लगायतका नेता कार्यकत्र्तालाई समेत यसको जिम्मेबारी लिनुपर्ने उल्लेख गर्नुभयो । पार्टी निर्वाचनमा हार्दैमा सभापति देउवालाई पदबाट राजीनामा दिनुपर्ने गलत भएको उहाँको भनाई थियो । 


प्रतिक्रिया