कोशीमा दशैं लक्षित जेटबोट जलयात्रा सुरु

आश्विन २६, २०७५ | सुनसरी

कोशी, अरुण र दूधकोशी नदीमा जेटेबोट चलाएर आन्तरिक र बाह्य पर्यटनमा टेवा दिन भनेर गत बैशाखदेखि सुरु गरेको जेटबोट जलयात्राले दशैं तिहासको पूर्वसन्ध्यामा स्थानीय यात्रु ओसार्न व्यस्त भएको छ । वर्षायामको बेला करीब चार महिना रोकिएको कोशीमा जेटबोट जलयात्रा चाड पर्वको पूर्वसन्ध्यामा फेरि सुरु भएको हो ।

दशैंमा मधेशबाट पहाड जाने र पहाडबाट मधेश झर्ने यात्रुका लागि जलयात्रा रोमाञ्चक मात्र नभएर घर पुग्ने दूरी र समय छोट्याउने माध्यम बनेको छ । सुनसरीको बराहक्षेत्रसंग भोजपुर, धनकुटाका दक्षिणी भेगका यात्रुको घरपुग्ने समय र दूरी छोट्याएदिएको भोजपुर घोडेटारका जयबहादुर कार्कीले बताए ।

बराहक्षेत्रको साविक महेन्द्रनगरस्थित चक्रघट्टीबाट घर हिँडेका बेला जेटबोटमा भेटिएका उनले भने, ‘जेटबोट नचल्दा घर पुग्न कम्तीमा एकदिन एक बिहान लाग्थ्यो । अहिले बिहानको खाना खान घर पुग्न पाएको छु ।’

सुनसरीको बराहक्षेत्रस्थित चतरा नजिकैको नयाँ पुलदेखि उदयपुर र भोजपुरको बीचमा पर्ने दूधकोशीको चुहार र धनकुटा र भोजपुरको सीमामा पर्ने शहीद भूमि गाउँपािलका साविक छिन्ताङको सिम्लेसम्म जेटबोट संचालन सुरु भएपछि कार्की जस्ता सयौं यात्रुलाई जेटबोट बरदान सावित भएको छ । 

दशैंछेकमा काठमाडौंबाट इटहरी–धरान हुँदै भोजपुरको घोडेटार घरमा दशैंको सामान लिएर हिँडेका दिपेन्द्र श्रेष्ठ र इटहरीबाट भोजपुरको दुम्माना हिँडेका राजेन्द्र परियार पनि जेटबोटमा भेटिए ।

श्रेष्ठले भने, ‘जेटबोट नचल्दा हिँडेर एकदिन लगाएर घर पुगिन्थ्यो । अहिले आधा घण्टा मै घर छेउ पुगिन्छ । सजिलो बनाएको छ ।’ दशैं तिहारको पूर्वसन्ध्यामा आफ्नो घर सम्झेर आफन्तको हातबाट टीका लगाउन वा लगाइदिन अब कोशीको अक्करे भिरको सानो बाटोमा काम्दै हिँड्नु पर्ने दिन सकिएको उनीहरुले बताए ।  

कोशीमा जलयात्राको सम्भावना प्रचुर मात्रामा भएकाले बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले व्यवसायिक रुपमा जेटबोट सञ्चालन गरेको संचालक सदस्य अमित भगतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षायाममा तीन महिना रोक्यौं । दशैं तिहार पनि नजिकिएकाले स्थानीय यात्रुको आवश्यकतालाई ध्यानमा राखेर फेरि सुरु गरेका हौं ।’ 

कोशी, अरुण र दूधकोशीको दुई किनाराका रमणीय पाखा पखेराका प्राकृतिक दृष्य हेर्दै जलयात्रा गर्ने यात्रु र पर्यटकहरुलाई लक्षित गरेर यो सेवा सुरु गरेपनि पछिल्लो समयमा भोजपुरको हतुवागढी, र आमचोक, अखुवा, धनकुटाको सांगुरी गढी, शहिद भूमि, उदयपृुको बेलका क्षेत्रका बासिन्दाका लागि धरान, विराटनगर, इटहरी आउजाउ गर्न सहज भएको छ ।

जेटबोटमा यात्रुले अनिवार्य सेफ्टी ज्याकेट लगाउनु पर्छ । ५० हजार रुपैयाँको दुर्घट्ना बीमाको टिकटमा एक पटकमा २५ यात्रु र सामान सहित ३५ सय किलो लैजान सकिने क्षमता भएकोले हाल लाई २५ जना यात्रु र उनीहरुका सामान्य लगेज मात्र चढाईने गरेकोसंचालक सदस्य भगतले जानकारी दिनुभयो । हाल दैनिक पाँच देखि आठ पटक ट्रिप लगाउने गरेको जेटबोटमा यात्रा गरेवापत वन वेको ४ सय ५० रुपैयाँ तोकिएको छ । 


प्रतिक्रिया