रोल्पामा सशस्त्र प्रहरी बलको स्थायी क्याम्प स्थापना

आश्विन २६, २०७५ | रोल्पा

रोल्पाको लिबाङमा सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापना गरिएको छ । सुरक्षा मजबुत पार्ने उद्देश्य सहित लिबाङमा शुक्रबार सशस्त्र प्रहरीको स्थायी गुल्म स्थापना गरिएको हो । गुल्मको मुख्यालय लिबाङमै रहने छ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सशस्त्र प्रहरी बलको गुल्म मुख्यालयको अनावरण गर्नुभयो ।

हाल सशस्त्र प्रहरीको गुल्म मुख्यालय साविकको जिल्ला शिक्षा कार्यालयको भवनमै रहने छ । सरकारले यस अघि नै जिल्ला शिक्षा कार्यालय खारेज गरिसकेको छ । सशस्त्र प्रहरी बलको जिल्ला नेतृत्व गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील सुवेदीले संघीय प्रणाली अनुसार जिल्लामा सशस्त्र प्रहरी बल स्थापना गरिएको बताउनुभयो ।

जिल्ला सुरक्षा समितिले यस अघि नै सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्नेबारे निर्णय सहित माग गरेको थियो । शान्ति प्रक्रियापछि पनि सुरक्षाका दृष्टिकोणले रोल्पालाई सरकारले उच्च संवेदनशील रुपमा लिएको छ । यस अघि रोल्पामा नेपाली सेनाको गण, नेपाल प्रहरीको जिल्ला कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय छन् ।

प्रदेशका आन्तरिक मामिला मन्त्री केसीले निकट भविष्यमा प्रदेश तहका प्रहरी र अनुसन्धान कार्यालय राख्न संरचना निर्माण गर्ने तयारीमा लागेको बताउनुभयो । लिबाङमा स्थापना गरिएको सशस्त्र प्रहरीको गुल्म मुख्यालयको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) ले गर्ने छन् ।

उहाँको नेतृत्वमा करीब १ सय ६० जना प्रहरी रहेका छन् । जिल्ला सुरक्षा समिति र रोल्पा नगरपालिकाले प्रहरीका लागि कार्यालय रहने स्थानबारे ठोस निर्णय गरेको छैन । नयाँ संरचना निर्माण गरेर गुल्म कार्यालय स्थापना गर्ने वा पहिलेकै सरकारी कार्यालयमा राख्ने भन्नेबारे अझै द्विविधा छ ।

हाललाई साविकको जिल्ला शिक्षा कार्यालयमा गुल्म मुख्यालय राखिएपनि स्थानीयले रेउघामा बलको बेस क्याम्प राख्न सुझाव दिएका छन् । यस अघि देखि त्रिवेणी गाउँपालिकाको तिलामा सशस्त्र प्रहरी बलको एउटा टुकडी रहेको छ । तत्कालीन माओवादी लडाकुको शिविर रहेको उक्त स्थानको सुरक्षार्थ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा करीब ६० जनाको टोली त्यहाँ रहेको छ । 

 


प्रतिक्रिया