जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा : गृहमन्त्री

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | काठमाडौं

गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले हत्या, बलात्कार जस्ता घटनालाई नियन्त्रण गर्न जनता र सरकार दुबैको संयुक्त प्रयास अनिवार्य रहेको स्पष्ट पार्नुभयो ।

महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा सेवन भएको उहाँको भनाई थियो । 

७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन भएको गृहको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुबैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको दोर्होयाउनुभयो ।

फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी गर्नुभयो ।

अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताउनुभयो ।  समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने उहाँको भनाई थियो ।   


प्रतिक्रिया