भारतबाट ४० नेपाली महिलाको उद्दार

कार्तिक १९, २०७५ | नेपालगञ्ज

भारतीय प्रहरीले दिल्लीका विभिन्न स्थानबाट ४० जना नेपाली महिलाको उद्वार गरी नेपालगञ्ज ल्याएको छ । भारतस्थित नेपाली दूतावास, माइती नेपाल र माइती इन्डियाको सहयोगमा ४० जना महिलालाई उद्वार गरी नेपाल ल्याइएको हो ।

३७ जनालाई दिल्लीको गाजियारोडस्थित भाडामा लिइएको घरको तीन फ्ल्याटबाट र ३ जनालाई दिल्ली कै जिवी रोड १५६ नम्बर कोठीबाट उद्वार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

४ वर्षदेखि कोठीमा रहेका उनीहरुलाई विशेष सूचनाको आधारमा उद्वार गरिएको कोइरालाले बताउनुभयो । यस्तै ३७ जनालाई श्रीलङ्का, कुबेत लगायतका खाडी मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै दलालले दिल्ली पुर्‍याएको माइती इन्डियाका संयोजक बालकृष्ण पाण्डेले बताउनुभयो ।

दिल्लीमा केदार भन्ने दलाल पक्राउ परेपछि उनले दिएको सूचनाको आधारमा ४० जना महिलाको उद्वार गर्न सफल भएको माइती नेपालका संयोजक कोइरालाले जानकारी दिनुभयो । ३७ जना महिलासँग दलालले प्रति व्यक्ति ४ लाख रुपैयाँका दरले लिएको पनि खुलासा भएको छ ।

उद्वार गरिएका महिला काठमाडौं, पोखरा, काभ्रे, सुनसरी, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, कपिलवस्तु, विराटनगर, तेह्रथुम, बर्दिबास, उदरपुर, मोरङ, सुनसुरी, रामेछाप, इलाम, रुकुम, कञ्चनपुर, दैलेख र बाँकेका हुन् । उद्वार गरिएका सबै महिलालाई भारतीय प्रहरीले एस्कटिङ गरेर आज नेपालगञ्ज ल्याएको हो । 


प्रतिक्रिया