ए डिभिजन लिग : अपराजित यात्रा कायम राख्न आर्मी फ्रेण्ड्ससँग भिड्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २०, २०७५ | काठमाडौं

- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा ब्रिगेड बोईज र मछिन्द्र क्लब आमने सामने हुनेछन् । आजको खेलसँगै छैठौँ चरणका खेलहरु सकिनेछन् । 

 ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान ११ बजे सुरु हुने खेलमा आर्मी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदै तालिकाको दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । ५ खेलमा ४ मा जित र एकमा बराबरी गरेको आर्मीको १३ अंक छ । अपराजित अर्को टोली मनाङ र्मस्याङ्दी सतप्रतिशत नतिजासहित १८ अंकमा शीर्ष स्थानमा छ । एक खेल बढी ६ खेल खेलेको थ्रीस्टार र संकटा क्बलको समान १५ अंक छ ।  

४ अंकमा तालिकाको १० औँ स्थानमा रहेको फ्रेन्ड्स, आर्मीलाई कम्तीमा बराबरीमा रोक्दै जारी सिजन दोस्रो जितको खुशी मनाउन चाहान्छ । आजै हुने दोश्रो खेलमा ब्रिगेड बोईज र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कप्लेक्समा दिँउसो साढे दुई बजे पछि सुरु हुनेछ । मछिन्द्र क्लब पछिल्लो ५ खेलमा हार र बराबरीको श्रृंखलालाई रोक्दै पहिलो जितको खोजीमा हुँदा ब्रिगेड ब्वाईज दोस्रो जित निकाल्ने दाउमा हुनेछ । 

 


प्रतिक्रिया