इपीएलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्सको पहिलो जित

रेडियो कान्तिपुर संवाददाता

मंसिर २३, २०७५ | काठमाडौं

ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्स्ले एभरेष्ट प्रेमियर लिग क्रिकेटमा पहिलो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित त्रि.वि मैदानमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले चितवन टाइगर्सलाई ११ रनले हराउँदा रवि इन्दर सिंहको शतकको मद्दतमा भैरहवाले पोखरा राइनोजलाई ४ विकेटले मात खुवायो । 

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । सोनु तामाङ र सन्दीप जोराले इनिङ्सको अन्त्यतिर विष्फोटक ब्याटिङ गर्दा ललितपुरले सम्मानजनक स्कोर खडा गर्न सकेको थियो ।

सोनुले अविजित ३५ रन बनाउँदा सन्दीपले उनलाई २५ रनमा साथ दिए । गौरव तोमरले ३० र जयकिसन कोल्सावालाले २० रनको योगदान गरेको खेलमा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए ।

युवा स्टार सन्दीप लामिछानेले ३ विकेट लिएपछि १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनाउन सक्यो । चितवनका लागि मध्यक्रमका दीपेन्द्र सिंह ऐरीले ४१ र कप्तान पृथु बास्कोटाले २६ रन बनाए । 

बलिङमा म्यान अफ द म्याच बनेका सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । 

आजै भएको दोस्रो खेलमा पोखरा राइनोज विरुद्ध ४ विकेटको जित हात पार्दै भैरहवाले विजयी सुरुवात गरेको छ ।

टस जितेर व्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । उच्च लक्ष्य बनाउने क्रममा पोखराका रिचर्ड लेभीले ३६ बलमा ७९ रन बनाए । त्यस्तै कायल कोएट्जरले ४७ तथा सुनील धमलनाले ३८ रन बनाए । 

२ सय १६ रनको लक्ष्य लिएर व्याटिङ गरेको भैरहवाले तेस्रो नम्बरका व्याट्सम्यान रवि इन्दर सिंहको विष्फोटक शतकीय इनिङ्सले खेल सकिन दुई बल अगावै ४ विकेटको जित हासिल गर्‍यो ।

दोस्रो ओभरको अन्तिम बलमा क्रिजमा आएका सिंहले ६० बलमा १० छक्का र ८ चौकाको सहयोगमा अविजित १ सय २५ रन बनाए । आरिफ शेखले २३, प्रदीप ऐरीले १४ रन जोड्दा पुनीत मेहरा १८ रनमा अविजित रहे ।

प्रतियोगितामा भोलि चितवन टाइगर्स् र काठमाडौं किङ्ग्स एलेवन तथा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच खेल हुनेछ । 


प्रतिक्रिया