मोटरसाइकल आपसमा जुध्दा झापामा एकको मृत्यु

मंसिर २७, २०७५ | दमक

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ दुई वटा मोटरसाइकल आपसमा जुध्दा झापाको कमल गाउँपालिका ३ स्थित पूर्व पश्चिम लोकमार्गमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मृत्यु हुनेमा तेह्रथुम जलजले गाउँपालिका १ का ३६ वर्षीय पूर्णराज लिम्बू छन् ।

साँझ ६ बजे केर्खा बजार पूर्व सहिद गेट नजिक पश्चिम आइरहेको को ९ प ५८६९ र पूर्व जाँदै गरेको को १२ प ७५२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी ५८६९ नम्बर मोटरसाइकलका चालक लिम्बूको मृत्यु भएको हो ।

अर्को मोटरसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपालिका १ का २८ वर्षीय विमल श्रेष्ठ र सुनसरीकै गढी गाउँपालिका ५ का २२ वर्षीय समुज श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । 


प्रतिक्रिया