तस्करीको साढे १२ क्वीन्टल मरिच बरामद

मंसिर २८, २०७५ | नेपालगञ्ज

पछिल्लो समय बाँकेको नेपालगञ्ज नाका हुँदै भारतमा कालो मरिच तस्करी हुने घटनाले निरन्तरता पाएको छ । नेपालगञ्जबाट तस्करी गरेर भारत लैजाँदै गरेको अवस्थामा साढे १२ क्वीन्टल मरिच प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगर १५ जमुनाहा गाउँ हुँदै भारत लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगञ्ज र सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाको संयुक्त प्रहरी गस्तीले गएराति मरिच बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डांगीले यति ठूलो परिमाणमा पहिलो पटक मरिच बरामद भएको जानकारी दिनुभयो । बरामद गरिएको मरिचको बजार मूल्य करीब ५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपालगन्ज नाका हुँदै भारतमा कालो मरिच तस्करी हुने क्रम बढेको छ । मरिचको बजार मूल्य नेपालमा आठ सय रुपैयाँ किलो पर्ने भएपनि भारतमा भने दोब्बर रहेकाले तस्करी बढेको प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले पटकपटक गरी करीब अढाई क्वीन्टल मरिच सीमाबाटै बरामद गरेको थियो ।


प्रतिक्रिया