चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

रेडियो कान्तिपुर संवाददाता

पुस १२, २०७५ | काठमाडौं

नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले आगामी चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । लगानी बोर्डले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको जनाएको हो ।

सम्मेलनमा नेपालमा लगानीको वातावरण, आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा विद्युत उत्पादन, सूचना तथा संचार प्रवधि मार्फत डिजिटल अर्थ व्यवस्था निर्माण, दीगो यातायात पुर्वाधार निर्माण लगायतका विषयमा छलफल हुने लगानी बोर्डले जनाएको छ ।

नेपालको दीर्घकालीन विकासको सोचलाई उपलब्धीमा रूपान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन गरेको थियो । त्यसमा  भएका उपलब्धी र सरकारले गरेको कामबारे जानकारी दिनु पनि सम्मेलनको उद्देश्य भएको मन्त्री खतिवडाले बताउनुभयो ।

अघिल्लो लगानी सम्मेलनपछि २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरका परियोजनाहरुका लागि समझदारी पत्रमा हस्ताक्षर भएको लागानी बोर्डले जनाएको छ ।

यस्तै २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा चासो देखाएको र केहीले परियोजना प्रस्ताव समेत पेश गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, गैरआवासीय नेपाली र विज्ञहरुको सहभागिता रहने बोर्डले जनाएको छ ।


प्रतिक्रिया