लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल सम्मेलन हुने

पुस १९, २०७५ | भैरहवा

नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल सम्मेलन (मार्ट) २०१९’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा गरिने यस कार्यक्रमको नेपाल एसोशिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले संयोजन गरेको छ ।

आगामी जनवरी १० देखि १२ सम्म (पुस २६ देखि २८) गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा गर्ने कार्यक्रम छ ।

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ मुल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाँईले बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तब्य स्थलहरुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न र लुम्बिनी तथा आसपासका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउनका लागि यो सम्मेलन मार्टको आयोजना गरिएको बताउनुभयो । 

यसका लागि विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई एकै थलोमा जमघट गराई व्यापार विनिमय अवसरको श्रृजना गराइने छ । नेपालको पर्यटन प्रबद्र्धनका लागि बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरुबीच सेवा तथा व्यापार विनिमय (बिटुबी) को अवसर श्रृजना गर्नका लागि व्यवसायिक यो सम्मेलन केन्द्रित रहने छ ।

 कार्यक्रममा विदेशी खरिदकर्ताहरु (बायर) ५० जना र नेपाली र विदेशी विक्रेताहरु ५० जना, अन्तर्राष्ट्रिय ब्लगर १० जना सहभागी हुने छन् । चिनको चाङ्गेदु टेलिभिजनले सहभागिताको लागि सुनिश्चितता गरिसकेको छ ।

आयोजक समितिका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाका अनुसार, यो कार्यक्रमको उद्देश्य र लक्ष्य भनेकै पर्यटन प्रर्वधन र बढी भन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउनु हो ।   


प्रतिक्रिया