आर्मी सेमिफाइनलमा प्रवेश

पुस २६, २०७५ | सुनसरी

सुनसरीमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी को अन्तिम खेलमा आज प्रदेश ६ लाई ६ विकेटले हराए पनि प्रदेश ३ ले अघिल्लो चरणमा स्थान बनाउन सकेन ।

इनरुवा खेल मैदानमा प्रदेश ६ ले दिएको १ सय १२ रनको लक्ष्य प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।

प्रदेश ३ का आदिल खानले २६, आसुतोस घिरिया र इशान पाण्डेले समान २० रन जोडे । प्रदेश ६ का दिवान पुन, युवराज केसी, राज साह र रविन्द्र जङ साहीले एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले २९ दशमलव २ ओभरमा १ सय ११ रनमा अलआउट भयो । रविन्द्र जङ शाहीले ३९ र निश्चल रावतले २२ रन जोडे ।

अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन् । प्रदेश ६ लाई सस्तोमा प्याक गर्न प्रदेश ३ का सूर्य तामाङ एक्लैले ५ विकेट लिए । प्रतियोगितामा भोलि एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । 

 


प्रतिक्रिया