व्यवसायी फिदा हुसेनको हत्याका चार अभियुक्त सार्वजनिक

पुस २६, २०७५ | इनरुवा

सुनसरीका व्यवसायी फिदा हुसेनको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका ९ छाताबेलीका ब्यवसायी हुसेनको गोली हानी हत्या गर्ने समूहका चार जना अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनपछि पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

व्यक्तिगत रिसइवी र आर्थिक लेनदेनमा भएको असमझदारीको कारण हुसेनको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विशम्बर यादव, छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गगरी सार्वजनिक गरिएको हो ।

अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोका सहितको एक थान, गोली २ राउण्ड र चक्कु एकथान बरामद गरेको छ ।

घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि हतियार खनेर लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले सो हतियार बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिनुभयो ।  

प्रभात भ्रमणका बेला व्यवसायी हुसेनलाई मंसिर ५ गते बिहान सात बजे जयबाबा इँटा भट्टा जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो । मोटरसाईकलमा आएका एक ब्यक्तिले हुसेनमाथि गोली प्रहार गरी भागेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याका अभियुक्त पक्राउ गर्नुपर्ने र मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखि उनको शव नै सडकमा राखेर दुहवीबासीले आन्दोलन गरेका थिए । 


प्रतिक्रिया