वार्षिक ३० अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात

पुस २७, २०७५ | काठमाडौं

एलपी ग्यासको आयात वर्षेनी बढ्दो छ । नेपाल आयाल निगमले वार्षिक ३० अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गर्ने गरेको छ । वार्षिक रुपमा यति ठूलो परिमाणमा ग्यास आयातले मुलुकको व्यापार घाटा समेत चुलिएको छ ।

चालू आर्थिक वर्षको पुस महिनामा मात्रै अहिले सम्मकै उच्च आयात भएको निगमले जनाएको छ । पुसमा मात्रै ४१ हजार मेट्रिक टन ग्यास आयात हुँदा ३ अर्ब रुपैयाँ बढी बाहिरिएको निगमका नायव कार्यकारी निर्देशन सुशील भट्टराईले बताउनुभयो ।

“डिसेम्बरको मात्र आयात हेर्ने हो भने अहिले सम्मकै उच्च रहेको छ, उहाँले भन्नुभयो, ‘अघिल्लो महिना अलिकति कम आयात भएको थियो । आयातमा १४/१५ प्रतिशतको वार्षिक वृद्धिदर हुने गरेको छ । गत महिनामात्र ३ अर्ब रुपैयाँको ग्यास हामीले खरिद गरेका छौं । अहिले ग्यासको मूल्य केही घटेको पनि हो, ग्यासको मूल्य घटेपनि एक महिनामा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ग्यास भारतबाट आयात भएको छ ।” 

गत मंसिरमा ३८ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको उहाँले बताउनुभयो । वर्षेनी २५ देखि ३० अर्ब रुपैयाँ ग्यासका लागि मात्र खर्च हुने गरेको निगमका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । वर्षेनी ठूलो रकम एलपी ग्यासका लागि बाहिरिँदा व्यापार घाटा समेत बढेको उहाँले बताउनुभयो । 

“ठूलो रकम ग्यास खरिदका लागि मात्र बाहिरिने गरेको छ, उहाँले भन्नुभयो, ‘आयात कम गर्दै केही बिजुलीको प्रयोग बढाउने तर्फ सरकारले ध्यान दिन सके मुलुकको अर्थतन्त्रका लागि राम्रो हुन्थ्यो । आफ्नो मुलुकमा उत्पादन नहुने र ग्यासको लागि विदेशमै भर पर्नुपर्ने कारण राष्ट्रिय अर्थतन्त्रको लागि चिन्ताको विषय बनेको छ ।”

एलपी ग्यासको आयात बढेसँगै यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको निगमका नायव कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । ग्यासमा परनिर्भरता बढ्दै जानु मुलुकको लागि चिन्ताको विषय भएकाले सरकारले यता तर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “औसतमा महिनाको ३०/३१ हजार मेट्रिक टन ग्यास आयात हुन्छ । वार्षिक आयात साढे ३ लाख मेट्रिक टन ग्यास खरिद हुँदा वर्षेनी २५ देखि ३० अर्ब रुपैयाँ बराबर भारतीय ओयल कार्पोरेसनलाई तिरिरहेका छौं ।”

मुलुकको व्यापार घाटा बढाउनमा ग्यास तथा पेट्रोलियम पदार्थको आयातले मुख्य भूमिका खेलेको भन्दै उहाँले वैकल्पिक ऊर्जा प्रयोगमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । एलपी ग्यासको आयात कम गर्न सरकारले आयात एकीकृत ऊर्जा नीति ल्याउन उहाँले सुझाउनुभयो । 

पछिल्ला ५ वर्षको तथ्याङक अनुसार एलपी ग्यासको वार्षिक आयात औसत वृद्धिदर १४ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३२ हजार ६ सय ६० मेट्रिक टन ग्यास आयात भएको छ ।

२०७१/७२ मा २ लाख ५८ हजार २ सय ९९ सय मेट्रिक टन आयात हुँदा २०७२/७३ मा भारतीय नाका बन्दीका कारण आयातमा कमी आएको थियो । सीमा अवरोधका कारण २ लाख १४ हजार १ सय ९४ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङक छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३ लाख १२ हजार ९ सय २८ र २०७४/७५ मा ३ लाख ७० हजार ५ सय ६० मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । विगत ५ वर्षमा कुल १३ लाख ८८ हजार ६ सय ४१ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङक छ ।


प्रतिक्रिया