नेविसंघको १२ औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्रै गर्ने तयारी

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५ | काठमाडौं

- नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको १२ औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्रै गर्ने तयारी भएको छ । विधानमा भएको व्यवस्थाअनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि माउ पार्टीले नै वैशाखमा सार्ने तयारी गरेको हो । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्वन्धन प्राप्त कलेजलाई फागुनमा स्ववियु् निर्वाचन गर्न परिपत्र गरिसकेकाले त्यसपछि मात्र अधिवेशन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

अहिले क्याम्पसहरुमा जाडो विदा भएकोले खुलेलगत्तै स्ववियु निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले माउ पार्टीलाई अधिवेशन वैशाखमा सार्न अनौपचारिक प्रस्ताव गरिसकेको उहाँको भनाई छ ।  नेविसंघको विधानमा कार्यसमितिको समयावधी दुई वर्षको छ । सो अवधीमा पनि अधिवेशन गर्न नसके तीन महिना थप गर्ने प्रावधान थियो ।

 विधान संसोधन गर्दै तीन महिनालाई पाँच महिना बनाइएको छ । महर नेतृत्वको कार्यसमिातिले आजबाट १२ औँ अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । यद्यपी अधिवेशन भने हुन सकेन । अध्यक्ष महरले ७० प्रतिशत स्कूल कलेजमा र १६ वटा जिल्लामा अधिवेशन सकिएको बताउनुभयो । ४० वटा जिल्लामा अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । आगामी माघ १५ भित्र सबै जिल्ला, स्कुल तथा कलेजको अधिवेशन सक्ने उहाँको भनाई छ । नेविसंघ भित्रकै असन्तुष्ट पक्षले भने अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यसमिति भङ्ग गरी तदर्थ समिति बनाउनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाएका मध्ये एक महामन्त्री सरोज थापाले नेविसंघलाई विधान अनुसार चलाउन दबाब स्वरुप राजीनामा दिएको बताउनुभयो । नेविसंघको इतिहासमा विश्वप्रकाश शर्मा बाहेकका कुनै पनि अध्यक्षले अहिलेसम्म तोकिएको समयावधीमा अधिवेशन गराएका छैनन् । पार्टी सभापति देउवाले नेविसंघको नेतृत्व ८ वर्ष सम्हाल्नुभएको थियो । नेविसंघको कार्यसमितिको विधान अनुसार थपिएको समयावधी आगामी बुधबार सकिँदै छ ।

 


प्रतिक्रिया