प्रहरी कारबाहीमा मारिएका व्यक्ति ‘मोस्ट वान्टेड’

पुस २९, २०७५ | रुपन्देही

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, १० शंखरापुरमा प्रहरी कारबाहीमा मारिएका व्यक्ति ‘मोस्ट वान्टेड’ रहेको खुलेको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा मारिएका व्यक्ति, हत्या अभियोगमा जेलबाट भागेका अभियुक्त केदार साहनी भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका, ६ का साहनी नेपालमा अपराध गरेर भारतमा लुक्दै आएको प्रहरीको दाबी छ ।  भन्सार क्षेत्रमा चोरी, तस्करीको धन्दा चलाउँदै आएका साहनीमाथि भैरहवाका आकाश गुरुङको हत्याको आरोप छ ।

२०७१ सालमा गुरुङको अपहरणपछि उनले नवलपरासी पुर्‍याएर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । गुरुङको हत्याअघि साहनी हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला कारागार कपिलवस्तुमा थिए । कैद सजाय भोगिरहेका साहनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर भागेका थिए । 

जेलबाट भागेको दुई महिनापछि पुन: पक्राउ परेका साहनी हातहतियार तथा कैदी भागे–भगाएको मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरेर हिरा भएका प्रहरी रेकर्डले देखाएको छ ।

बम विस्फोट, कर्तव्य ज्यान तथा फिरौती सम्बन्धी मुद्दा लागेका साहनीले गएराति १२ बजे प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथि जवाफी कारबाही गरिएको प्रहरीको भनाई छ ।

उनको साथबाट प्रहरीले एक थान अटोमेटिक लोडेड पेस्तोल तथा युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । साहनीले चलाएको गोली लागेर घाइते भएका प्रहरी जवान कृष्ण श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । 


प्रतिक्रिया