प्रदेश ७ सेमिफाइनलमा प्रवेश

माघ २, २०७५ | सुनसरी

प्रदेश ७ सुनसरीमा जारी मनमोहन स्मृति वान डे क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि प्रदेश ७ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । भारतको सुपौलले आज प्रदेश ७ लाई १ विकेटले हराएपनि नेट रनरेटका आधारमा प्रदेश ७ ले अन्तिम ४ मा स्थान बनायो । 

प्रदेश ७ ले दिएको १ सय ८५ रनको लक्ष्य भारतीय टोली सुपौलले ३८ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । सौरस गिल्लीले ४३, सुमित मिश्राले २० तथा अजय सिंहले २८ रन जोडे । प्रदेश ७ का शेर मल्लले ४ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले विपिन रावलको अर्धशतकको मद्दतमा १ सय ८४ रन जोड्यो । रावलले ५३ रनको पारी खेले । रोशन अधिकारीले २५, लोकेश बमले २२ रन जोडे । सुपौलका विश्वजितले ४ विकेट लिए । भोलि हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश ७ बीच प्रतिस्पर्धा हुनेछ । 

 


प्रतिक्रिया