पुलिस क्लब फाइनलमा

माघ ३, २०७५ | इनरुवा

नेपाल पुलिस क्लब, सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले फाईनलमा स्थान बनाएको हो ।

उपाधिका लागि पुलिसले भोलि हुने प्रदेश १ र नेपाल आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

इनरुवा खेल मैदानमा ३ सय २४ रनको रनको लक्ष्य पछ्याएको प्रदेश ७ लाई ३१ दशमलव ३ ओभरमा १ सय २३ रनमा प्याक गर्दै पुलिसले जित हात पारेको हो ।

प्रदेश ७ का विपिन रावल र लोकेश बमले समान २६–२६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पुलिसका सागर ढकालले ५ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबका दिलिप नाथको शतकीय पारीसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रन जोडेको थियो ।

आक्रामक ब्याटिङ गरेका नाथले ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय १६ रनमा नटआउट रहे । मन्जित श्रेष्ठले ५३ रन जोडे । प्रदेश ७ का बिकास आग्रीले ३ विकेट लिए । 


प्रतिक्रिया