प्रदेश एकलाई हराउँदै आर्मी फाइनलमा

माघ ४, २०७५ | सुनसरी

सुनसरीमा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

उपाधि भिडन्त भोलि हुनेछ । १ सय १० रनको झिनो लक्ष्य पछ्याएको आर्मीले १९ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा जित हात पार्‍यो । रोहितकुमार पौडेल ५८ र राजेश पुलामी २३ रनमा नटआउट रहे । प्रदेश १ का मनोज मण्डलले २ तथा पुष्प थापाले १ विकेट लिए ।

यसअघि टस जितेर आर्मीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको प्रदेश १, २५ दशमलव ४ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । रवी रोएले २२, पुष्प थापाले १९ रन जोडे । आर्मीका हरिबहादुर चौहानले ४ विकेट लिए । 

प्रतियोगिताको बिजेताले ४ लाख १ हजार तथा उपविजेताले  २ लाख १ हजार प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिएका प्रदेश १ र प्रदेश ७ ले प्रोत्साहन बापत २५ हजार रुपैयाँ पाएका छन् । 


प्रतिक्रिया