सामुदायिक विद्यालय सुधारका लागि महायज्ञ

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०७५ | दाङ

दाङको घोराही उपमहानगरपालिका १३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँले प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आयोजना गरेको महायज्ञमा हालसम्म ६६ लाख बढी संकलन भएको हो । 

महायज्ञको छैठौं दिन हिजो मात्रै २७ लाख ३९ हजार ८ सय ६० रुपयाँ संकलन भएको महायज्ञका निर्देशक अर्जुन बुढाथोकीले बताउनुभयो । दान संहलन हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही १३ का विमला गिरी र अनिरुद्र गिरीको परिवारले हालसम्म सबैभन्दा बढी १२ लाख ५१ हजार रुपयाँ दान गरेको छ ।

भूमिदान समन्वय उपसमितिका संयोजक घोराही १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५, घोराही १६ का केशव खत्रीले ५ लाख ५६ हजार १ सय ११, आर्थिक समिति संंयोजक भुपाल गिरी र श्रीमती गीताकुमारी गिरीले १ लाख ५ हजार १ सय १५ रुपयाँ दान गरेका छन् ।

यसैगरी, घोराही १३ का सतबहादुर पुनले १ लाख ११ हजार १ सय ११, घोराही १३ का महानसिंह भारती र कमला लम्साल भारतीले २९ हजार ९ सय १९, घोराही १५ का गोविन्द केसीले २७ हजार ७ सय ७७ र घोराही १३ का लेखराज केसीले २५ हजार १ सय १ रुपयाँ दान गरेको विद्यालयकी प्रधानाध्यापक बाल्मी केसीले बताउनुभयो ।

महायज्ञमा दैनिक संगीतमय कथा, प्रवचन र धार्मिक नाटक प्रस्तुत हुने गरेको छ । बेलुकापख नाटक हेर्न र भजन सुन्न भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ ।


प्रतिक्रिया