फोरजी सेवा प्रभावकारी हुन नसकेको प्रति सांसदको आपत्ति

रेडियो कान्तिपुर संवाददाता

माघ ११, २०७५ | काठमाडौं

- व्यवसायिक योजना बिनै नेपाल टेलिकमले सुरु गरेको फोर जी सेवा लामो समयसम्म पनि बिस्तार हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा सांसदहरुले पर्याप्त गृहकार्य र योजना बिना सुरु गरिएको नेपाल टेलिकमको फोर जी सेवा प्रभावकारी लागु हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् । 

बैठकमा सांसद रामकुमारी झाँक्रीले ठुलो रकम लगानी गरेर सेवा सुरु भएपनि स्पष्ट कार्ययोजना नहुँदा यसले गति लिन नसकेको बताउनुभयो । निजी दुरसञ्चार प्रदायकहरुले कम लागतमा उच्च गुणस्तर कायम सफल भएपनि नेपाल टेलिकम प्रतिष्पर्धामा उत्रन नसकेको बताउनुभयो ।

यस्तै समिति सदस्यहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे लगायतले प्रतिफलको सुनिश्चितता नभइकन टेलिकमले फोर जी सेवामा ठुलो लगानी गरेको भन्दै स्पष्ट भावी योजना बनाएर अघि बढ्न सुझाएका थिए ।

बैठकमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पोखरा र काठमाडौंमा यसअघि नै लागु भएको फोरजी सेवा अन्य शहरमा पनि बिस्तारको पहल भइरहेको बताउनुभयो । राज्य र टेलिकमलाई फाइदा हुने गरी सम्झौत गर्ने भन्दै मन्त्री बास्कोटाले फाइभ जी सेवाको लागि पनि तयारी भइरहेको बताउनुभयो । नेपाल टेलिकमले परीक्षणका रूपमा २०७३ पुसदेखि काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुरु गरेको थियो ।

बैठकमा समितिले फोर जी सेवा बिस्तारमा हालसम्म भएको प्रगति र भावी कार्ययोजना तीन दिन भित्र पेश गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ  । समितिको अर्कौ बैठक पर्सी आइतबार बस्नेछ ।

 


प्रतिक्रिया