कालीगण्डकी कोरिडोर अब आर्थिक कोरिडोर 

रेडियो कान्तिपुर संवाददाता

माघ १९, २०७५ | बागलुङ

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कालीगण्डकी कोरिडोरलाई आर्थिक कोरिडोर बनाउने बताउनु भएको छ । बागलुङको मालढुंगा देखि गुल्मी सम्मको कोरिडोर खण्ड फराकिलो बनाउने कामको शिलान्यास गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले देशको आर्थिक विकासमा समेत कोरिडोरले भूमिका खेलेको बताउनुभयो ।

नेपाली सेनाले निर्माण गरिरहेको कोरिडोरको शनिबार एक कार्यक्रमका बीच उहाँले शिलान्यास गर्नु भएको हो । सरकराले २० करोड रुपैयाँ रकमान्तण गरेर कोरिडोरमा विनियोजन गरेपछि यो सडक चौडा पार्ने काम सुरु भएको हो ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले दुई छिमेकी देशमा नेपालको व्यवसाय बढाउन सक्ने गरी कोरिडोर विकास गरिने बताउनुभयो । खतिवडाले चालू वर्ष सडक चौडा पारेपछि आगामी आर्थिक वर्ष कोरला नाकामा आवश्यक पूर्वाधार बनाउने गरी बजेट विनियोजन गर्ने समेत आश्वासन दिनुभयो ।  

गत वर्ष ट्रयाक खुलेको कोरिडोरमा सेनाले नै १० मिटर चौडा बनाउन लागेको हो ।

सेनाले हाल गुल्मीखण्डमा काम गरिरहेको छ । बागलुङ खण्डका लागि चालू वर्षभित्रै चौडा पार्न २० करोड रुपैयाँ बजेट माग गरेकोमा रकमान्तरण मार्फत बजेट आएकोले छिटो काम गर्ने सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो । यो बजेटले बागलुङको ३६ किलोमिटर सडकखण्ड मध्ये पहिलो १० किलोमिटरमा असार भित्रै र बाँकी खण्डमा एक वर्ष भित्र काम सक्ने उहाँको भनाई छ । 


प्रतिक्रिया