सदरमुकाम विवादमा रुकुम पूर्वले बुटवलबाट सुरक्षाकर्मी झिकायो 

माघ २३, २०७५ | रुकुम पूर्व

रुकुम पूर्वको अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञा जारी राख्दै गएरातीबाटै ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

स्थायी सदरमुकाम बनाउने निर्णय गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा र सो आसपासका सर्वसाधारण ज्ञापन पत्र बुझाउन रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको सहकर्मी हरि गौतमले जनाएका छन् । प्रशासनले आजै बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट लगेको छ । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आफ्नै स्थानमा सदरमुकाम राख्नु पर्ने गोल्खाडा र रुकुमकोटवासीबीचको अडानका कारण, सम्भावित घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था बलियो पारिएको बताउनुभयो । 

रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनाका लागि दवाव दिन भन्दै ५ हजार बढी सर्वसाधारण प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारीमा छन् । उनीहरुलाई रोक्न सिस्ने र भूमे गाउँपालिकाको सीमाना पर्ने धौलापैरामा स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । रुकुमकोटमै सदरमुकाम हुनु पर्ने भन्दै रुकुमकोटवासी पनि प्रदर्शनमा उत्रिएका छन् । 

सरकारले गत वर्षको माघ ११ गते स्थायी सदरमुकाम गोल्खडा कायम गर्ने निर्णय गरेपनि माघ १७ गते सर्वोच्च अदातलते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सो पछि १६ पटकसम्म सरेको पेसी आगामी आइतवारका लागि तोकिएको छ । 


प्रतिक्रिया