कलाकारितालाई किनारामा राख्दै धुर्मुस सुन्तली क्रिकेट रंगशाला निर्माणमा 

रेडियो कान्तिपुर संवाददाता

माघ २६, २०७५ | काठमाडौं

धुर्मुस सुन्तली फाउन्डेसनले माघ १६ गते राजधानीमा भव्य कार्यक्रम मार्फत चितवनको भरतपुर महानगरपालिकामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणासँगै यसको चर्चा सुरु भएको छ । धेरै जसोले फाउन्डेसनको प्रशंसा गरेका छन् भने कतिपयले यो अभियानमा असहमति जनाएका छन् ।

२०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि पुनर्निर्माणको लक्ष्यसहित स्थापित फाउन्डेसनले काभ्रे, सिन्धुपाल्चोक लगायत ४ ठाउँमा वस्ती निर्माण गर्दै वाह वाही पाएको थियो । सरकारले गर्न नसकेको काममा फाउन्डेसनको प्रयासलाई सराहना गर्ने धेरै थिए । केही महिना अघि फाउन्डेसनले देशकै पुरानो वीर अस्पतालको रंगरोगन समेत गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरे त्यतिमा मात्रै रोकिएका छैनन् । मुख्य पेशा कलाकारितालाई किनारामा राख्दै उनीहरु क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् । उनीको अभियानमा सरकारले पनि पुरै साथ दिएको छ ।

भरतपुर महानगरले २० बिघा जग्गा समेत उपलब्ध गराइसकेको छ । फाउन्डेसनका अध्यक्ष र उपाध्यक्षले निर्माणस्थल भ्रमण गर्दा चितवनबासीले नेताहरुको भन्दा ठूलो स्वागत गरेका थिए । रंगशाला बन्नेमा क्रिकेट खेलाडी, खेल प्रेमी, चिवतनबासी वा भनौं धेरैले उनीहरुको अभियानमा विश्वास गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, कांग्रेसका महामन्त्री शंशाक कोइरालाले सम्झौता कार्यक्रममा पुगेर फाउन्डेसनको खुलेर प्रशंसा गरे । उनीहरुले हरसम्भव सहयोग गर्ने वचन पनि दिएका छन् । राष्ट्रिय सभागृहको हलमा खचाखच मानिसहरुको उपस्थितिमा भएको घोषणा सभामा चार करोड रुपैयाँ भन्दा बढी रकम संकलन भएको थियो ।

भूकम्पपछि चार वटा वस्ती निर्माण गरेर सबै नेपालीको मन जितेका कलाकारद्वय धुमुर्स सुन्तलीले अर्को परियोजना निमार्ण गर्ने जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । यो परियोजना एउटा रगंशाला मात्र नभएर नेपालीहरुले साझा पहलमा राष्ट्रिय गौरवको योजना सम्भव छ भन्ने आत्मविश्वास दिलाउने सन्देश समेत भएको बताउँछिन् फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरे । 

यो काम आफूहरुको लागि अघिल्लो परियोजनाको वस्ती बसाल्न जस्तो सजिलो नभए पनि सबैको सहयोगमा असम्भव पनि नरहेको उनको विश्वास छ । समयमा नै सम्पन्न गर्ने चुनौती तथा आर्थिक र व्यावहारिक रुपले कठिन भएपनि सबैको सहयोग भए प्रभावकारी र सुरक्षित संरचना बनाउन सकिने घिमिरेले बताईन् । 

सरकारका प्रमुखले नै फाउन्डेसनको कामको सरहाना गरिरहँदा उनकै संरक्षकत्वमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपका कार्यकारी प्रमुख सदस्य सचिव केशवकुमार विष्टले भने फाउन्डेसनको अभियानलाई प्रोपोगान्डा भन्दै प्रतिक्रिया दिएका छन् ।

रेडियो कान्तिपुरसँगको कुराकानीमा सदस्य सचिव विष्टले फाउन्डेसनको जस्तो परिकल्पना सरकारसँग थ्रुपै भएपनि त्यसको प्रोपोगन्डा गर्न नसकेको बताएका छन् । “फाउन्डेसनले बनाउँछु भन्दा यति प्रचार भएको छ । तर, सरकारले गरेको कामको प्रचार हुँदैन, उनले भने, सरकारी काम भएकाले योजना मात्र नभएर सबै विधि र प्रक्रिया मिलाउँदा समय लाग्ने गरेको छ ।”

विष्ट त्यतिमा रोकिएनन्, उनले सरकारले बनाउन लागेको ९ वटा रंगशालाको भन्दा फाउन्डेसनले बनाउने भनिएको रंगशालाको बढी चर्चा भएको बताए । सरकारले बनाउने रंगशाला आउने २ वर्षमा पूरा हुने दाबी विष्टले गरेका छन् । विष्टले निजी क्षेत्रबाट रंगशाला बनाउने विषय ठूलो नभएपनि फाउन्डेसनले समन्वय गर्न आएमा सहयोग गर्न परिषद तयार रहेको बताएका छन् ।

६ महिनामा विस्तृत परियोजना प्रतिवेदन डीपीआर र शिलान्यासपछि आगामी २ वर्षमा रंगशाला निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका फाउन्डेसनका अध्यक्ष कट्टेल र उपाध्यक्ष घिमिरे त्यहि अभियानका लागि रकम  संकलनका लागि यति बेला मलेसिया भ्रमणमा छन् ।

चार वटा वस्ती निर्माण गरेर धेरैको आर्शीवाद पाएको फाउन्डेसनले पहिलो पटक खेलकुद क्षेत्रमा हात हालेको छ । पक्कै पनि सरकारले समेत आँट गर्न नसकेको काम गर्ने अभियानमा जुटेको फाउन्डेसनका लागि रंगशाला बनाउने अवसर जति छ, त्यो भन्दा बढी आफ्नो साख जोगाउने चुनौती छ । 


प्रतिक्रिया