बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा पुलिसलाई दाफिन्सको चुनौती 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७५

- सुनसरीमा जारी २१ औँ बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसले पाहुना टोली दाफिन्स फुटबल टोलीसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि होडमा रहेका दुबै टोली एकअर्काविरुद्ध सहज जितसँगै फाईनल प्रवेशको योजनामा रहेका छन् । शारीरिक खेल खेल्दै सेमिफाइनल पुगेको क्यामरुनी क्लब, पुलिसको चुनौती पन्छाउँदै नेपालमा दोस्रो उपाधि जित्ने दाउमा रहेको छ । क्बाटरफाईनलमा अर्को विभागीय टोली एपीएफलाई हराएको दाफिन्स उच्च मनोबलमा रहेको छ । 

शारीरिक रुपमा पनि बलियो मानिएको टोलीलाई हराउन पुलिसलाई भने ठुलो चुनौती रहेको छ  । सेमिफाइनल भिडन्त धरान रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । आजको विजेताले गोल्डकपको उपाधीका लागि भोलि धरान फुटबल क्लबको सामना गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै धरानले फाइनलमा स्थान बनाईसकेको छ । गोल्डकपको विजेताले ८ तथा उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्नेछन् । 


प्रतिक्रिया