गर्भवतीसहित दुईको हत्या गरी फरार १० वर्षपछि पक्राउ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | पोखरा

– सामान्य विवादमा चक्कु प्रहार गरी गर्भवती र उनका श्रीमानको हत्या गरी फरार ताप्लेजुङका ३७ वर्षीय सामा माइला भन्ने चतुर्मान लिम्बु १० वर्षपछि पक्राउ परेका छन् । सामा गाउँपालिका ९ ताप्लेजुङ घर भई पोखरा १६ बाटुलेचौरमा बस्दै आएका उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार २०६६ बैशाख ५ मा लिम्बु कोप्चेबजारस्थित होटल सञ्चालक दिलकुमार राई र उनकी गर्भवती श्रीमतीको हत्या गरेर फरार भएका थिए । ताप्लेजुङ प्रहरीले हालैमात्र चतुर्मान पोखरामा रहेको सुराकीका आधारमा कास्की प्रहरीलाई खोजिदिन आग्रह गर्दैै पत्राचार गरेपछि उनी पक्राउ परेका हुन् ।

चतुर्मान घरमा रंग लगाउने काम गर्दै आएका थिए । एसपी रानाले चतुर्मानलाई ताप्लेजुङ पठाइने बताउनुभयो ।  


प्रतिक्रिया