बार्सिलोनाको संघर्षपूर्ण जित 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | एजेन्सी

स्पेनिस ला लीगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले १५ औं स्थानको भल्लाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।

२४ औं चरणको खेलमा बार्साले ४३ औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेको थियो । एउटा पेनाल्टीमा चुकेका लियोनेल मेसी अर्कोमा भने बार्साका लागि गोल गर्न सफल भए । जितसंगै बार्साले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दुरी ७ अंकमा पुर्‍याएको छ । २४ खेलबाट ५४ अंक जोडेको बार्सा तालिकाको शीर्ष स्थानमा जमेर बसेको हो । 

गएराती नै भएका अन्य खेलमा एट्लेटिको मड्रिड, लेभान्ते र रियल सोसिडाड बिजयी भएका छन । 

रायो भल्कानोलाई १–० ले हराएको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ७४ औ मिनेटमा एन्टोनियो ग्रीजम्यानको गोल उसलाई जिताउन पर्‍याप्त बन्यो । उसले २४ खेलबाट उसको ४७ अंक भएको छ । एक खेल कम २३ खेल खेलेको रियल मड्रिड ४५ अंकमा तेस्रो स्थानमा झरेको छ । 

गएराती नै लेभान्तेले सेल्टा डी भिगोलाई ४–१ ले स्तब्ध पार्‍यो भने रियल सोसिडाडले लेगानेसलाई ३–० ले पराजित गर्‍यो । 


प्रतिक्रिया